नेपालको ४३ औँ प्रधानमन्त्रीको शपथ ग्रहण र नयाँ कार्यकालको सुरुवात भइरहँदा, म एक निष्पक्ष नागरिक र पर्यटन क्षेत्रको एकेडेमिकका रूपमा आफ्ना केही समीक्षा र अपेक्षाहरू राख्न चाहन्छु। यो बधाई केवल औपचारिकता मात्र होइन, बरु एउटा यस्तो नागरिकको हुटहुटी हो जसले यो देशको माटो पढेको छ र आफ्नै माटोमा केही गर्ने सपना बोकेको छ।
विगतको भोगाइ र प्रणालीगत अवरोध
हिजोका दिनमा आफ्नो विज्ञता र क्षमताले देशका लागि केही गर्छु भन्दा म जस्ता धेरैले बाटोमा अनेकौँ अड्चनहरू भोग्नुपर्यो। नातावाद, कृपावाद र भ्रष्टाचारको जालोले गर्दा वास्तविक योग्यता भएका मानिसहरू पाखा लगाइए। ‘केही गर्छु’ भन्नेहरूका लागि सिस्टम सहयोगी हुनुको साटो बाधक बन्यो। भ्राद २२ र २३ गतेका घटनाहरू हामी ‘जेन-जी’ (Gen Z) पुस्ताका लागि त्यही थिचिएको आवाजको विस्फोट थियो।
अबको नेतृत्वले ‘वाचा पत्र’ र ‘नागरिक करार’ अनुसार ‘मेरिटोक्रेसी’ (योग्यताप्रणाली) लाई आत्मसाथ गर्दै अक्षमलाई हटाउने (Right to Recall/Reject) साहस देखाउनुपर्छ।
पर्यटन: घुमघाम मात्र होइन, विज्ञान र सभ्यताको संगम हो ।
म पर्यटन क्षेत्रसँग आवद्ध भएको नाताले के भन्न चाहन्छु भने हामीले पर्यटनलाई केवल ‘घुम्ने र रमाइलो गर्ने’ संकुचित घेरामा राख्यौँ। तर वास्तवमा पर्यटन भनेको विज्ञान र सभ्यताको गहिरो अध्ययन हो। हाम्रा हिमाल, जैविक विविधता र प्राचीन हिन्दु-बुद्ध दर्शन वैज्ञानिक अनुसन्धानका खुला विश्वविद्यालय हुन्। पर्यटनलाई विज्ञान र प्रविधिसँग जोडेर ‘एकेडेमिक टुरिजम’ र ‘रिसर्च हब’ का रूपमा विकास नगरेसम्म हामीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैनौँ। यो देशलाई बुझ्न र चिनाउन अब नयाँ र वैज्ञानिक दृष्टिकोण चाहिन्छ।
अस्थिरता र क्षेत्रीय सन्तुलन:
लामो समयको अस्थिरताले हरेक क्षेत्रलाई असरल्ल पारेको छ। झन्डै दुई-तिहाइको जनमत र नयाँ शक्तिहरूको उपस्थितिलाई सम्मान गर्दै, अब एउटा स्थिर सरकारले मात्र विकासको लय समात्न सक्छ। हाम्रा छिमेकीहरू भारत र चीन विश्व शक्ति बन्दै गर्दा, नेपालले ‘विज्ञ क्याबिनेट’ मार्फत आफ्नो सार्वभौम पहिचान र प्राकृतिक स्रोतको सन्तुलित प्रयोग गर्नुपर्छ। बाह्य इशारामा हुने विभाजनकारी राजनीति अब स्वीकार्य छैन।
अन्ततोगत्वा: म उत्साहित छु, तर सँगै थप जिम्मेवार पनि। आशा छ, तपाईँको कार्यकालले ती बाटाहरू सहज बनाउनेछ जहाँ म जस्ता आम नागरिकले आफ्नो दक्षता निर्धक्क भएर प्रयोग गर्न पाऊन्। यदि फेरि पनि पुरानै बेथिति दोहोरियो भने इतिहासले कसैलाई माफी दिने छैन। असरल्ल परेको देशको बागडोर सम्हाल्दै गर्दा, नेपाललाई विश्वमानचित्रमा एउटा गौरवशाली र वैज्ञानिक पहिचान दिलाउन तपाईँको कार्यकाल सफल होस्।
नया सरकार (बालेन)लाई हार्दिक बधाई तथा शुभकामना !

