सगरमाथा आरोहण गर्नेहरुको यो लाम

हेरेक बर्ष यहि सिजनमा सगरमाथाबाट बाहिरिएका भाइरल फोटो/ भिडियोहरूलाई नियालेर हेर्नुभयो भने, एउटा कुरा प्रष्ट हुन्छ हामीले सोचेको हिमालको त्यो एकान्त र साहसिक रूप अब बाँकी रहेन।

हिमालको यो दृश्य कुनै ऐतिहासिक आरोहण जस्तो होइन, बरु यो उचाइमा लागेको कुनै डरलाग्दो सहरी ट्राफिक जाम जस्तो देखिन्छ। ‘डेथ जोन’ को एउटै डोरीमा लामबद्ध भएका सयौँ आरोहीहरू एकअर्काको पिठ्युँमा टाँसिएर, घण्टौँसम्म जीवन र मरणको दोसाँधमा उभिएका छन।

काठमाडौँका आरामदायक सरकारी कोठाहरूमा बसेर परमिसन (अनुमति पत्र) को संख्या गन्ने र राजस्व हिसाब गर्नेहरूका लागि सगरमाथा एउटा आकर्षक व्यवसाय मात्र हुन सक्छ। तर, हिमालको यो वास्तविकतालाई हेरिरहँदा मन भने भारी हुन्छ। ती डोरीहरूलाई हिउँमा बाँधेर विदेशीहरूलाई शिखरसम्म डोर्याउने हाम्रा स्थानीय शेर्पा र हाइ-अल्टिटुड गाइडहरूका लागि हिमाल कुनै सान, सौख वा सामाजिक प्रतिष्ठाको विषय होइन। उनीहरूका लागि यो नितान्त जीविकोपार्जनको लडाइँ हो। यो आफ्ना बालकालिकालाई पढाउने, परिवार पाल्ने र आफ्नो जीवनलाई हत्केलामा राखेर गरिने अस्तित्वको संघर्ष हो।

विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तन (Climate Change) को सबैभन्दा क्रूर असर हाम्रा हिमालयहरूमा देखिएको छ। सगरमाथाका हिमनदीहरू अभूतपूर्व गतिमा पग्लिरहेका छन। जसका कारण विगतमा हिउँ र बरफले पुरिएका चट्टानहरू नाङ्गो बन्दै गएका छन र ढुङ्गा खस्ने (Rockfalls) तथा हिमपहिरो (Avalanches) को जोखिम निकै बढेको छ।

जलवायु परिवर्तनकै कारण मौसम झन् बढी अनिश्चित र हिंस्रक बन्दै गएको छ। यसले गर्दा शिखर पुग्ने सुरक्षित मौसमको अवधि (Weather Window) झन्-झन् साँघुरिँदै गएको छ। प्रकृतिले जम्मा ३ वा ४ दिनका लागि मात्र मौसम खुला गर्दा, आरोहीहरू एउटै साँघुरो र एकमात्र डोरीको बाटो हिँड्न बाध्य हुन्छन।

मानवीय भीडभाडले निम्त्याएको अर्को डरलाग्दो रूप हो । फोहोरमैला (Waste Management)। आज सगरमाथाका उच्च क्याम्पहरू (क्याम्प २ देखि साउथ कोलसम्म) पुराना पाल, च्यातिएका कपडा, प्लास्टिकका बोतल, खाली अक्सिजन सिलिन्डर र मानव मलमूत्रको डम्पिङ साइटमा परिणत हुँदैछन। अत्याधिक उचाइ र चिसोका कारण यी फोहोरहरू दशकौँसम्म कुहिँदैनन। यी केवल दृश्यात्मक प्रदूषण मात्र नभई हिउँ पग्लिएर तल बग्ने पानीका मुहानहरूलाई समेत विषाक्त बनिरहेका छन।

फोहोरमैला ब्यबस्थापन आजसम्म नभएको हैन तर प्राप्त छैन। हामीले हिमालको अत्यधिक दोहन गरिरहेका छौँ ।

आधुनिक सगरमाथाको सबैभन्दा ठूलो विडम्बना नै यसमा जोडिएका दुई फरक मानवीय स्वार्थहरू छन।
त्यो एउटै फिक्स्ड लाइन (डोरी) को एकातिर व्यावसायिक विदेशी आरोहीहरू छन, जो समाजमा आफ्नो प्रतिष्ठा बढाउन वा सामाजिक सञ्जालमा तस्विर पोस्ट गरेर वाहवाही कमाउन हिँडिरहेछन। उनीहरू मकालु वा धौलागिरी जस्ता प्राविधिक रूपमा अत्यन्तै गाह्रा हिमालहरू छोडेर सगरमाथा नै रोज्छन। किनभने, आजको आधुनिक समाजले आरोहणको ‘कौशल र कला’ लाई होइन, केवल ‘सगरमाथा’ को ब्रान्डलाई मात्र चिन्छ र सम्मान गर्छ।

तर, त्यही डोरीको अर्कोतिर हाम्रा स्थानीय दाजुभाइहरू छन। उनीहरू आफ्नो भविष्य निर्माण गर्न त्यो जोखिम मोलिरहेका छन। एउटा समूह ट्रफी (पदक) का लागि चढ्दैछ भने अर्को समूह जीवन बचाउनका लागि। जब यो प्रणालीगत भीडभाड र वातावरणीय बेवास्ताले निम्त्याउने दुर्घटनामा कसैको ज्यान जान्छ, तब त्यसको सबैभन्दा ठूलो पीडा हाम्रा स्थानीय समुदायले नै भोग्नुपर्छ।

सरकार र पर्वतारोहण क्षेत्रका सरोकारवालाहरूले एक पटक नितिगत तह देखि नै सोच्न पर्छ। पछिको जोखिम र त्यसले निम्त्याने मानवीय, आर्थिक, र वातावरणीय पक्षलाई मध्यनजर गरि एकीकृत ब्यबस्थापन प्रणाली बनाउन आवश्यकता देखिन्छ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top