नेपालको राजनीतिक परिदृश्यमा कहिलेकाहीँ यस्ता आवाजहरू सुनिन्छन्, जसले हाम्रो समाजको गहिरो समस्या र सम्भावनालाई उजागर गर्छन्। हालै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, अन्तरिम नागरिक सरकारका शिक्षा मन्त्री तथा प्रख्यात सामाजिक अभियन्ता महावीर पुन सरले आफ्नो सामाजिक सञ्जालमा एउटा यस्तो पोस्ट सेयर गर्नुभयो, जसले मेरो ध्यान एकदमै आकर्षित गर्यो। उहाँको भनाइ थियो:
“अब उकालो लागियो मुना गाउँ तिर चुनाव प्रचार प्रसार गर्न। शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध नगरी नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधानले स्वीकार गरेको भए म यो चुनावमा लड्ने थिएन। एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन सचिवले अल्झ्याए। अनि त रिस उठ्यो र म्याग्दी तिर दगुरे।”
(उहाँले म चुनाव लड्दिन नयाँहरु मिलेर जाउ । म यो सरकार पछि पुरानै आफ्नो कामकाजमा फर्किन्छु भनेर बारबार भन्ने गर्नु हुन्थ्यो। उहाँले हिजोमात्रा मन्त्री पदबाट राजीनामा दिएर उहाको गृह जिल्ला म्याग्दीमा स्वतन्त्र उम्मेदवारि दिनुभएको छ। )
यो भनाइले महावीर पुन सरको व्यक्तिगत अनुभव र राष्ट्रप्रतिको नियतलाई इन्कित गर्छ। उहाँले मन्त्री हुँदा शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा ल्याउन खोजेका सुधारहरू ब्युरोक्रेटिक जालोमा फसेको कुरा उल्लेख गर्नुभएको छ। यो मात्र एउटा व्यक्तिको निराशा होइन, यो त हाम्रो समग्र विकास प्रक्रियाको प्रतिनिधि कथा हो।
कुनै पनि राष्ट्रको विकास विज्ञान, समृद्धि र समुन्नतिमा निर्भर हुन्छ। अझ त हाम्रो जस्तो भूपरिवेष्टित र भूराजनीतिक हिसाबले ‘एपिसेन्टर’ जस्तो देशमा, जसमा बहुसांस्कृतिक (multicultural), बहुभाषिक (multilingual) र धार्मिक विविधता (religious diversity) छ, शिक्षा, नवप्रवर्तन (innovation) र अनुसन्धान (research) को आवश्यकता अपरिहार्य छ। तर मन्त्री हुँदा पारित नभएका वा हुन नदिनेहरूको नियत कस्तो थियो भन्ने कुरा फेरि एकपटक उदाङ्गो भएको छ । तिनीहरूले विकासका आधारहरूलाई नै रोकेका छन्।
हामी हिमालयको देशमा छौं, जहाँ पढ्दै गर्दा स्रोतहरू भेटाउन गाह्रो हुन्छ। ग्रामीण क्षेत्रहरूमा इन्टरनेट, पुस्तकालय वा प्रयोगशालाहरूको अभावले विद्यार्थीहरूको सिर्जनशीलतालाई कुण्ठित गर्छ। महावीर पुन सरले आफ्नो पोस्टमा उल्लेख गरेजस्तै, यदि उहाँले ल्याउन खोजेका ३ वटा अध्यादेश र ४ वटा नियमावलीहरू पारित भएका भए, आज उहाँ चुनावी मैदानमा उत्रिनुपर्ने थिएन। यो कुराले हामीलाई सोच्न बाध्य बनाउँछ: किन हाम्रो प्रणालीमा यस्ता सुधारहरू रोक्ने प्रवृत्ति छ? सचिव वा अन्य पदाधिकारीहरूले किन विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय जस्तो महत्वपूर्ण संरचनालाई अल्झाउने गर्छन्? यो नियतको उदाङ्गो नाचले हाम्रो प्रशासनिक संरचनाको कमजोरीलाई उजागर गर्छ।
आज म आफैं यो स्रोतहरूको अन्वेषणमा लागिपरेको एक युवा हु। मेरो नितान्त ब्यक्तिगत विचार:
“यहाँ सबैलाई जागरण (awareness) नगरी देश कहिल्यै उँभो लाग्दैन। भिडले दिशा दिँदैन, जबसम्म हरेक तप्का र हरेक व्यक्तिमा चेतना खुल्दैन, फेरि त्यही पुरानो अवस्था दोहोरिन्छ भन्ने स्टेट्मेन्टको निष्कर्षमा पुगेको छु।”
मैले निराशा फैलाउन खोजेको होइन, म निराशावादी पनि होइन। देश अहिले परिवर्तनको मुडमा छ। महावीर पुन सर जस्ता व्यक्तित्वहरूले चुनावमा भाग लिएर यो परिवर्तनलाई गति दिन खोजिरहनुभएको छ।
तर फेरि त्यस्तो नहोस् पुरानो ब्युरोक्रेसी र राजनीतिक स्वार्थले सुधारहरूलाई रोक्न नपाओस्।
नेपालको सन्दर्भमा हेर्ने हो भने, हाम्रो बहुसांस्कृतिक समाजमा शिक्षा र नवप्रवर्तनले मात्र सामाजिक एकता र आर्थिक उन्नति सम्भव छ। उदाहरणका लागि, ग्रामीण क्षेत्रहरूमा टेलिमेडिसिन, ई-लर्निङ र कृषि प्रविधिका नवीनतम प्रयोगहरूले लाखौंको जीवन बदल्न सक्छ। तर यसका लागि बलियो नीतिगत आधार चाहिन्छ । जस्तो कि महावीर पुन सरले प्रस्ताव गर्नुभएको छुट्टै मन्त्रालय। यो मन्त्रालयले अनुसन्धानलाई प्रोत्साहन दिने, स्टार्टअपहरूलाई सहयोग गर्ने र युवा वैज्ञानिकहरूलाई प्लेटफर्म दिने काम गर्न सक्छ। यदि यस्ता सुधारहरू लागू भएनन् भने, हामी सधैं ‘विकासशील’ को खोलमा कैद रहनेछौं।
अन्तमा, महावीर पुन सरको यो पोस्ट हाम्रा लागि एउटा जागरण हो। यो चुनावी प्रचार मात्र होइन, यो त राष्ट्र निर्माणको आह्वान हो। हामी सबैले यो कुरालाई आत्मसात् गरौं । विज्ञान र प्रविधिलाई राजनीतिक एजेन्डाको केन्द्रमा राखौं। देशको समृद्धि शिक्षा र नवप्रवर्तनबाट मात्र सम्भव छ। आउनुहोस्, यो परिवर्तनको मुडलाई कायम राखौं र फेरि पुरानो गल्ती नदोहोर्याऔं। नेपालको उज्ज्वल भविष्य हाम्रै हातमा छ।