मिलेनन् भन्न सजिलो छ । मिल्नै पर्छ भन्न पनि सजिलो छ ।तर आजको यो ७ बुँदे सहमतिले नेपाली जनता अनि विशेषगरी जेनजी पुस्ताको मनमा नयाँ आशा जगाएको छ ।
रास्वपा र कुलमानको उज्यालो नेपालबीचको एकताले कुलमानलाई रविपछिको दोस्रो वरीयताको उपसभापति बनायो, घण्टी चिन्ह र नाम कायम राख्यो, मेरिटोक्रेसी, भ्रष्टाचारमा शून्य सहनशीलता र दश वर्षभित्र मध्यम आय भएको राष्ट्र बनाउने स्पष्ट मार्गचित्र अङ्कित गर्यो । यो सहमतिमा बालेनको पनि भूमिका छ ।अब रवि, कुलमान र बालेनको त्रिपक्षीय समीकरणले वैकल्पिक राजनीतिको बलियो आधार बनेको जस्तो देखिन्छ ।
म आफैँ जेनजी युवा हुँ । यो देशको आँगनमा आशाको त्यान्द्रो देखेर हुर्किएको पुस्ता हु । पुराना नेताहरूको ideology भन्दा बढी उनीहरूको आचरण—नातावाद, कृपावाद, भ्रष्टाचार र सत्ता मोहले नै हाम्रो आशा तुहिएको बेला यो समीकरण आएको छ । निर्दोष युवाको रगत र बलिदानको मूल्य यो समीकरणले तिर्न सक्छ भन्नेमा म आशावादी छु, रमिते पनि भएको छु, म आफै शैक्षिक क्षेत्रमा भएकाले ऐना हुनु स्वधर्म हो । अत: म उतिकै चिन्तित पनि छु ।
पुराना दलहरूको ideology र नयाँको विचारधारामा ठूलो फरक छ । पुरानाहरूको ideology जस्तो कांग्रेसको लोकतान्त्रिक समाजवाद, एमालेको मार्क्सवाद-लेनिनवाद, माओवादीको क्रान्तिकारी कम्युनिज्म यिनिहरु सबै कागजमा सुन्दर छन्, तर व्यवहारमा ती सत्ता टिकाउने, परिवारवाद र क्रोनी क्यापिटालिज्मको औजार मात्र बनेका छन् । उनीहरूको मुख्य अस्त्र नै यही हो: नातावाद, कृपावाद, भ्रष्टाचारको संरक्षण र सत्ता भागबन्डा । एक समय उनीहरूमा पनि यस्तै रापताप थियो ।२०४६ को जनआन्दोलनपछि कांग्रेस, २०६२/६३ पछि माओवादी, २०७४ मा ओलीको लहर तर आज ती सबै एउटै थलोमा पुगेका छन् । अहिले उनिहरु जनताबाट टाढा, भ्रष्टाचारको दलदलमा छन। उनीहरूको लोकप्रियता ‘जनप्रिय’ थिएन, केवल ‘लोकप्रिय’ मात्र थियो ।अस्थायी लहर, जसले दीर्घकालीन सुशासन दिएन ।
नयाँ समीकरणको विचारधारा भने परिणाममुखी सेन्ट्रिस्ट प्रगतिवाद हो। भ्रष्टाचार शून्य सहनशीलता, योग्यताप्रणाली (मेरिटोक्रेसी), डेलिभरीमा आधारित राजनीति, उदार अर्थतन्त्र र सामाजिक न्याय । यो पुरानोको वैचारिक कट्टरता वा वर्गसंघर्षमा होइन, समस्या समाधान र सक्षमतामा आधारित छ ।
फरक कसरी नयाँ हुन सक्छ ? यदि यो समीकरणले पदको बार्गेनिङभन्दा माथि उठेर सक्षम टिम बनायो, योग्यतालाई मात्र आधार बनायो, नातावाद र कृपावादलाई ठाउँ दिएन भने मात्र यो साँच्चै नयाँ हुनेछ । लोकप्रियता (जनप्रिय हुनु) र केवल लोकप्रिय हुनुको फरक यही हो। जनप्रियता दीर्घकालीन विश्वास र परिणामबाट आउँछ, लोकप्रियता अस्थायी लहर र मिडिया हाइपबाट । रवि, बालेन र कुलमानको लोकप्रियता अहिले राष्ट्रिय स्तरमा उच्च छ, तर यदि परिणाम दिएनन् भने यो पनि पुरानै लहरजस्तै ओइलाउनेछ ।
अन्तर्राष्ट्रिय स्तरमा पनि यो फरक देखिएको छ । रयुटर्स, गार्डियनजस्ता मिडियाले यो जेनजी विद्रोहको सकारात्मक राजनीतिक extension को रूपमा हेरेका छन। यो नेतृत्वले भ्रष्टाचार र कुशासनविरुद्ध नयाँ मोडेल ल्याउँदैछ भन्ने कुरालाई जोड दिएको देखिन्छ। भारततिर बालेनको राष्ट्रवादी छविलाई लिएर चासो र चिन्ता छ।विदेश नीतिमा सन्तुलन बिग्रन सक्छ भन्ने कुरालाई जोडतोडले उठाएका छन। चीन र पश्चिमा शक्तिले सुशासन र मेरिटोक्रेसीको एजेन्डालाई स्वागत गरेका छन्, तर अस्थिरता बढ्यो भने हस्तक्षेपको बहाना बन्न सक्छ । पुराना दलहरूको समयमा पनि यस्तै अन्तर्राष्ट्रिय रापताप थियो, तर आज उनीहरूको विश्वसनीयता भ्रष्टाचारका काण्डले गर्दा शुन्यता छ ।
यो समीकरण साँच्चै नयाँ हुन चाहन्छ भने पुरानाको अस्त्र नातावाद, कृपावाद, भ्रष्टाचार र सत्ता मोहलाई पूरै त्याग्नुपर्छ । पदको भागबन्डा होइन, परिणामको जिम्मेवारी लिनुपर्छ । म जेनजी युवाको नाताले आशावादी छु, तर सचेत पनि छु । यदि यो पनि पुरानै बाटो लाग्यो भने निर्दोष रगतको मूल्य फेरि अधुरो रहनेछ । त्यसैले अहिले नै बधाई दिन हतारो छैन । मेरो गाउँ -ठाउँको परिवेश र अवस्थालाई कसरी एड्रेस गर्छन्न । हेर्न मन छ। र हामि प्राय सबैलाई लाग्ने कुरा ; अब के होला ? लोकतन्त्र हो ।यो सहमतिले काम गर्छ भने हाम्रो पुस्ताको सपना साकार हुने बाटो खुल्छ । नगरे सौहार्दपूर्ण कार्यगत एकता वा एक्लाएक्लै जाने । समानुपातिक मतले वास्तविक हैसियत देखाइहाल्छ । प्रत्यक्षमा जो बलियो छ, त्यसलाई सहयोग गर्ने । अब नेतामात्र हैन जनता पनि सचेत हुने । चासो राख्ने । अध्यन गर्ने । राम्रो नराम्रो छुट्याउने । जितेर आएपछि एजेन्डामा छलफल गरेर अघि बढ्ने । यो एकता हाम्रो चाहना हो, तर पदको लोभमा सीमित भयो भने इतिहास फेरि दोहोरिनेछ । अनि हामी फेरि एकाध कुनै कथा कहानी पढे जस्तो हुनेछौं ।