नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको १०५ नम्वर काेठमा, हिजाे श्रावण ११, २०८२ सम्पन्न भएको ‘युवा नीति संवाद: एपिसोड ४—पर्यटन विशेष’ कार्यक्रममा सहभागी हुने अवसर मिल्दा, मेरो मनभित्र अनौठो रस र रोष मिसिएको अनुभूति भयो। यो कार्यक्रम एकातिर, युवाको आवाजलाई राज्यको कानसम्म पुर्याउने प्रयास थियो भने अर्कोतिर, त्यसले राज्यको लामो समयदेखिको सुस्तता र शून्यता पनि उदांगो पारिरहेको थियो।
मेरो जीवन र अध्ययनको यात्रा यही देशको माटोमा छोपिएको छ। मैले मेरो देशसँग कस्तो गहिरो आत्मीयता राख्छु भन्ने शब्दले व्यक्त गर्न सक्दिनँ। यो देश मेरो रगतको रौनक हो, मेरो पहिचान हो, मेरो जीवनको आधार हो।
मेरो अध्ययन, मेरो अनुसन्धान, मेरो समर्पण यही भू–भागबाट सुरु भएको हो। बनजंगल, खोलानाला, घना हरियाली अनि त्यो माटो जहाँ मेरा पूर्वजहरू बसेका थिए—मैले त्यसलाई नजिकबाट चिनेको छु।
तर, यथार्थ के छ भने हाम्रो देशको सडक, पूर्वाधार, संरचना (Infrastructure & Superstructure) अझै विकासको बाटोमा छ। नेतृत्वको कमी, जटिल भू–राजनीतिक र कूटनीतिक परिस्थिति हाम्रो विकासलाई सुस्त बनाइरहेको छन। यसले धेरै युवा निराश भई प्यासिमिस्टिक (निराशावादी) भैरहेका छन्। गाउँघर सुनसान हुँदै गएका छन्। लाखौँ युवाहरू रोजगारको खोजीमा विदेशिएका छन्।
देश छोड्ने अनेकन अवसर सङै अनेकन बाध्यता हुँदाहुँदै पनि म अझै यहीँ छु, बरु देशका लागि केही गरौँ भन्ने हठ बोकेर बसेकाे छु।

मैले मेरो अध्ययन यहीँबाट सुरु गरें। मैले मेरो देशको माटोलाई मेरो किताब बनाएँकाे छु। मेरो देशप्रतिको मायाले नै म पर्यटन क्षेत्रमा केही गर्न लागि परेकाे छु।
यस्तो समयमा जब युवा रोजगारीको लागि विदेशिन बाध्य छन्, जब गाउँहरू खाली हुँदैछन्, त्यही समयमा मैले ‘युवा नीति संवाद’ जस्ता कार्यक्रममा भाग लिएँ। त्यहाँ मैले देखेँं-त्यहाँ पनि युवाको जोश छ, क्षमता छ, क्रियाशीलता छ। हामी जस्तै युवाहरूले आफ्नो आवाज उठाइरहेका छन्, नयाँ सुरुवात गर्दैछन्।
तर, यो परिवर्तन त्यति सजिलो छैन। नेतृत्वमा कमी, पुराना संरचनात्मक कमजोरी, अव्यवस्थित नीति र यथार्थसँग मेल नखाने कार्यक्रमहरूले धेरै कुरा बिगारेका छन्।
आजको नेपाल—जहाँ बालबालिका देखि वृद्धसम्म निराश छन्। आशाको उज्यालो क्षितिजमा ओझेल परेको छ।

त्यसैले, जब हामीले पर्यटन नीति, पूर्वाधार, दिगो विकास, डिजिटल प्रविधि, पर्वतीय पर्यटन, खेलकुद पर्यटन, डोमेस्टिक ट्राभल, वेलनेस टुरिज्म, निक्षेधित क्षेत्रको सहज पहुँच, ट्रेकिङ इन्स्योरेन्स, अनुमति प्रणाली, सेफ्टी इस्युज, एजुकेटेड गाइड प्रणाली, लगायत अनेक विषयमा कुरा गर्यौँ—त्यो केवल नीति बहस थिएन, त्यो प्रत्यक्ष अनुभव र व्यथाको प्रस्तुति थियो।
हाम्रो स्वर राज्यका कानमा पुगेको थियो भन्ने आभास त भयो, तर त्यो सुनेको हो कि ‘सुनिएको अभिनय’ मात्रै थियो, अझै स्पष्ट छैन।जुन भाेलीकाे दिनमा देखिएला।
कार्यक्रममा सहभागी नेपाल सरकारको प्रधानमन्त्री केपि शर्मा ओलिका प्रमुख सल्लाहकार विष्णु रिमाल, सूचना प्रविधि सल्लाहकार अस्गर अली, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीज्यू लगायत पर्यटन क्षेत्रका अनुभवी व्यक्तित्वहरूसँग कुराकानी, अन्तरक्रिया र अनुभव आदानप्रदान गर्नु मेरो लागि एक अमूल्य अवसर थियो। पर्यटन विद्यार्थीको नाताले, मभित्रको जिज्ञासा र गहिरो सोचलाई यसले अझ प्रज्वलित बनायो।

म यो प्लेटफर्म उपलब्ध गराइदिएकोमा Institute for Rural Development लाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरूले नेपालका युवाको आवाज नीति निर्माण तहसम्म पुर्याउने प्रयास गर्दै हुनुहुन्छ, यो सराहनीय छ। म आशा गर्छु, आगामी दिनमा यस्ता संवाद अझ सशक्त, समावेशी र क्रियाशील रूपमा दोहोरिइरहून्। हामी युवाहरूको विचार, अनुभव र प्रयासलाई सुन्ने र स्वीकार्ने संस्कृति विकास होस्।

