रानीसैन विवाद: प्रशासनिक सिमाना, रैथाने जीविकोपार्जन र दिगो पर्यटनबीचको कडी

प्रकृति र मानव सभ्यताको सुन्दर संगमबाट हाम्रो हिमाली भूगोल बनेको छ। यहाँका विशाल पहाड, हरिया खर्क र खुला पाखाहरू शताब्दीयौँदेखि मानिस र वन्यजन्तुको साझा घर बनिरहेका छन। यो भूगोलले कहिल्यै कुनै प्रशासनिक सिमाना वा जिल्लाको कृत्रिम रेखा चिनेन। यहाँ त केवल हिउँद र बर्खाको प्राकृतिक चक्र निरन्तर चलिरह्यो। यही प्राकृतिक चक्रसँगै स्थानीय मानिसहरूले आफ्नो जीवन, संस्कृति र आपसी भाइचारालाई अगाडि बढाए। यसरी मानिस र प्रकृति मिलेर बाजुरा र हुम्लाको सिमानामा एउटा सुन्दर रैथाने थलो जन्मियो त्यो हो रानीसैन /लाम्पाटा क्षेत्र।

रानीसैन क्षेत्र एउटा रमणीय जमिनको टुक्रा मात्र होइन, बरु पुस्तौँदेखि स्थानीय बासिन्दाको सुख-दुःख र जीविकोपार्जनको मुख्य आधार हो। यहाँ हुम्ला र बाजुरा दुवैतर्फका स्थानीयहरू आफ्नो जीवन धान्नका लागि प्राकृतिक स्रोतमा निर्भर छन। विशेषगरी हुम्लाका बासिन्दाहरू हिउँद र बर्खामा आफ्ना भेडाच्याङ्ग्रा र चौँरी चराउन यही खर्कमा आउँछन। यसरी परम्परागत रूपमा पशुपालन गरेर जीवन बिताउने पद्धतिलाई हामी ‘पास्टोरोलिज्म’ भन्छौँ। यो घुमन्ते पशुपालन संस्कृति नै उनीहरूको जीवनको लाइफलाइन अर्थात् बाँच्ने मुख्य आधार हो।

यही जीवन धान्ने आधारभूमिमा हालै एउटा दुःखद मोड देखापर्‍यो। सुदूरपश्चिम प्रदेश सरकारले रानीसैन क्षेत्रमा एउटा अस्थायी प्रहरी चौकीको भवन बनाउने योजना अघि सार्‍यो। यो योजना बाजुरा प्रशासनले कानुनी स्रेस्ता र नापी विभागको नक्साका आधारमा अघि बढाएको थियो। राज्यको नियम अनुसार आफ्नो सिमानाभित्र सुरक्षा र विकासका पूर्वाधार बनाउनु प्रशासनिक रूपमा एउटा स्थापित प्रक्रिया हो। तर, यो निर्माण कार्य सुरु हुनासाथ हुम्लातर्फका स्थानीय बासिन्दामा एउटा गहिरो डर र संशय पैदा भयो।

उनीहरूमा पैदा भएको त्यो डर आफ्नो परम्परागत थातथलो र जीविकोपार्जनको अधिकार गुम्ने चिन्तासँग जोडिएको थियो। त्यहाँ सरकारी भवन बन्दा वा बाजुराको एकलौटी उपस्थिति हुँदा आफ्नो पुस्तौँ पुरानो चरिचरनको अधिकार सधैँका लागि खोसिने हो कि भन्ने भय हुम्ला पक्षमा देखियो। यही डर र दुवै पक्षबीच आपसी संवादको कमीका कारण असमझदारी बढ्दै गयो। अन्ततः यो असमझदारीले एउटा ठूलो भौतिक झडपको रूप लियो, जसमा जनप्रतिनिधि र कर्मचारीसहित ६ जना स्थानीय नागरिक घाइते हुन पुगे। स्थिति यति संवेदनशील बन्यो कि घाइतेहरूलाई बचाउन हेलिकप्टरबाट उद्धार गरी अस्पताल लैजानुपर्‍यो।

यो घटनाले सिंगो क्षेत्रको शान्ति र पर्यटनको सम्भावनालाई ठूलो धक्का पुर्‍याएको छ। पर्यटन क्षेत्रको पहिलो र अनिवार्य सर्त नै तटस्थता, शान्ति, सुरक्षा र आपसी आतिथ्यता हुन। रैथाने पर्यावरण र पर्यटनका स्थापित विश्वव्यापी सिद्धान्तहरूले के भन्छन् भने, राष्ट्रिय निकुञ्ज (National Parks), मध्यवर्ती क्षेत्र (Buffer Zones), पर्यावरण र लामो दूरीका पदमार्ग (Trekking Routes) हरूले कुनै राजनीतिक वा प्रशासनिक सिमाना चिन्दैनन। यी त प्रकृतिका साझा सम्पदा हुन, जसको दिगो व्यवस्थापनका लागि स्थानीय समुदायको अनिवार्य संलग्नता र उनीहरूको अपनत्व पहिलो सर्त मानिन्छ। अन्तर्राष्ट्रिय मान्यता (जस्तै IUCN का दिगो पर्यटन निर्देशिकाहरू) अनुसार पनि प्रकृति संरक्षण र पर्यटन विकास गर्दा त्यहाँका आदिवासी र रैथाने समुदायको माग, आवश्यकता र प्राकृतिक न्यायको सिद्धान्तलाई सधैँ सर्वोपरी राख्नुपर्छ।

यस्तो जटिल परिस्थितिमा केवल नापीको डिजिटल नक्साले कोरेको रेखालाई मात्र अन्तिम सत्य मान्दा स्थानीयको मन दुख्न सक्छ र जैविक सर्किटको मर्म नै मर्न सक्छ जस्तो लाग्छ। बरु, यस्ता राष्ट्रिय गौरव र स्थानीय जीविकोपार्जन जोडिएका क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण गर्नुअघि दुवै जिल्ला र पालिकाका स्थानीय बासिन्दा, जनप्रतिनिधि र सरोकारवालाहरूलाई एउटै चौतारीमा राखेर पर्याप्त विमर्श गर्न पाएको भए कति राम्रो हुन्थ्यो । विकास र सुरक्षाको योजना ल्याउँदा स्थानीयको रैथाने परम्परा र चरिचरनको अधिकारलाई कुनै संकुचन नहुने गरी पूर्व-प्रतिवद्धता जनाउन सकेको भए सायद यो असमझदारी झडपको तहसम्म पुग्ने थिएन कि जस्तो लाग्छ ।

त्यसैले, आगामी दिनमा यस समस्याको न्यायोचित निकासका लागि संघीय सरकारको अभिभावकीय भूमिकामा दुवै प्रदेश र स्थानीय तहका प्राविधिकहरू सम्मिलित गराई वैज्ञानिक सीमांकनको कामलाई अगाडि बढाउँदा अझ परिपक्व हुन्थ्यो होला। सँगसँगै हुम्लाका बासिन्दाको परापूर्वकालदेखिको चरिचरन र खर्क उपयोगको अधिकारलाई आपसी समझदारी वा लिखित नीतिगत व्यवस्था मार्फत सुनिश्चित गरिदिने हो भने दुवै पक्षको आत्मसम्मान र अधिकारको सुन्दर रक्षा हुन सक्थ्यो भन्ने लाग्छ। सिमानाहरू जनतालाई लडाउने पर्खाल नभई दुई क्षेत्रको संस्कृति, प्रकृति र आर्थिक समृद्धिलाई जोड्ने साझा सेतु बन्नुपर्छ। यस्तो समन्वयकारी र संवेदनशील सोच राखेर अघि बढ्न सकेमा मात्र यो सुन्दर हिमाली क्षेत्रमा स्थायी शान्ति फर्कनेछ र स्थानीय समुदायको हित अनुकूल पर्यटनको साझा लाभ सबैले महसुस गर्न पाउने थिए।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top