पूर्ण वृत्त

सुरुवात त्यहीँबाट हुन्छ, जहाँ आधुनिक मानव सभ्यताले आफ्नो पसिना र आत्मालाई तथ्याङ्कमा रूपान्तरण गरिदिएको थियो। त्यो सहरको नाम कालो बस्ती थियो, जहाँ गगनचुम्बी भवनहरूमा कृत्रिम बत्तीहरू बलिरहन्थे, तर आकाश कहिल्यै देखिँदैनथ्यो। सहरको माथि सधैँ कृत्रिम धुवाँ र मडारिएको कालो बादलको साम्राज्य हुन्थ्यो।

कालो बस्ती दुई भागमा बाँडिएको थियो। माथिल्लो तह, जहाँ प्रणाली र शक्तिको आडमा बाँचेका सम्भ्रान्तहरू बस्थे, र तल्लो तह, जहाँ अँध्यारो गल्लीहरूमा सामान्य मानिसहरू केवल जीविकाका लागि मेसिनझैँ दौडिरहन्थे।

यो सहरको सामाजिक पदानुक्रम यस्तो जटिल र कुरुप थियो कि सामान्य मानिसलाई सत्य बुझ्न न उत्सुकताले भ्याउँथ्यो, न उसको आर्थिक हैसियतले। यो पदानुक्रम कुनै संयोग थिएन, यो त सूक्ष्म अर्थशास्त्रको एउटा क्रूर गणितीय सन्तुलन थियो।

त्यहाँ मानिसको मूल्य उसको संवेदनाले होइन, उसको उत्पादकत्व र उपयोगिताको आधारमा नापिन्थ्यो। शासकहरूले मानिसको मस्तिष्कलाई यसरी नियन्त्रण गरेका थिए कि त्यहाँ प्रश्न गर्नु सबैभन्दा ठूलो अपराध मानिन्थ्यो।

यही सहरको सबैभन्दा तल्लो र ओसिलो गल्लीको एउटा सानो प्रयोगशालामा मनन बस्थ्यो। मनन यो बस्तीको विद्रोही चिन्तक थियो। उत्सुकताका साथ उसको अगाडि एउटा यस्तो स्क्रिन थियो, जसमा प्राचीन पहेँला पानाहरू डिजिटल रूपमा सङ्ग्रहित थिए।

उसले भर्खरै आफ्नो जैविक कलमले स्क्रिनमा कोरेको थियो: जीवन = f(दर्शन, भोग)। हाम्रो जीवन चाहे हामी केही गरौँ वा नगरौँ, आफ्नै गतिमा निरन्तर अगाडि बढिरहेकै हुन्छ। यो एक नदीजस्तै हो, जो कहिल्यै रोकिँदैन। जीवन केवल क्रियाबाट मात्र होइन, दर्शन र भोग दुवैको समिश्रणबाट बनेको हुन्छ।

मननले स्क्रिनबाट हात हटायो र आँखाहरू चिम्लियो। उत्सुकतापूर्वक उसको स्मृतिमा श्रुति को अनुहार आयो। श्रुति, जससँग उसले कुनै समय विचार र भावनाका गहिरा पाटाहरू साटेको थियो। उनीहरू घन्टौँ बसेर मानव चेतना र ब्रह्माण्डको सम्बन्धबारे बहस गर्थे। त्यो बौद्धिक संवादमा एउटा अलौकिक शृङ्गारिक रङ्ग थियो।

तर, कालो बस्तीको आधुनिकताले श्रुतिलाई बदलिसकेको थियो। आज श्रुति माथिल्लो तहको वैभवमा हराएकी थिइन। उनी मननको यो दार्शनिक खोजी र यथार्थको धरातललाई प्रणालीको कमजोरी भन्दै मजाक उडाउँछिन र भन्छिन, “मनन, यो अस्तित्वलाई सहर्ष स्वीकार गर, आधुनिक दासता नै आजको सत्य हो।”

मनन स्क्रिनमा हेर्छ, आजको सहरमा जीवनसाथीहरू सँगै त छन्, स्क्रिनमा एकअर्कालाई हेरेर हाँस्छन्, तर भित्रभित्रै कति रित्ता र खाली छन! प्रेम पनि अब यन्त्रको नापोमा नापिन्छ।

यहाँ भावना र तर्कको यस्तो सौदाबाजी भएको छ, जहाँ सम्बन्धहरू केवल जैविक आकर्षण र मानसिक आवश्यकता पूर्तिका लागि उपयोग गरिने उपभोक्तावादी वस्तु बनेका छन। के प्रेम सत्य हुन्छ? आजको यो आधुनिक भुलभुलैयामा प्रेम तबसम्म मात्र टिक्छ, जबसम्म त्यसले एकअर्काको स्वार्थ र अहङ्कारको सामूहिक कोषलाई फाइदा पुर्‍याउँछ।

तर मनन यो आत्मसमर्पणसँग सहमत थिएन। उसलाई याद आयो आफ्नो प्रारम्भिक जीवन, जहाँ उसको घर र समुदायले उसलाई केवल कसरी इसारामा चल्ने भन्ने कुरा सिकाएको थियो। तर मननले त्यो बानी र विश्वासलाई तोडिदियो।

जब मानिसले समाजले थोपरेका कुरुप मान्यतालाई आँखा चिम्लेर स्वीकार गर्न इन्कार गर्छ र ‘किन?’ भनेर तीखो प्रश्न गर्छ, त्यहीँबाट वीर रसको जन्म हुन्छ। उसले युवाहरूको मस्तिष्कमा सिर्जनशीलता र नवप्रवर्तनको बीउ रोप्न थाल्यो।

यहाँ उसले बुझ्यो कि आदर्शमा मात्र बाँच्नु भनेको व्यावहारिक रूपमा आत्महत्या गर्नु जस्तै हो। जीवन चलाउन यथार्थ र सम्झौताको धर्ती पनि चाहिन्छ।

विचारहरू जतिसुकै माथि उडे पनि, आफ्नो गोडा यथार्थको बुनियादी धरातलमै राखेर लड्ने यो साहस नै उसको वीरता थियो। पैसा र शक्ति पूर्ण नभए पनि, ती मानिसको भौतिक स्वतन्त्रता जोगाउने बलिया साधन हुन भन्ने यथार्थ उसले बुझिसकेको थियो।

समयको कालचक्र घुम्दै जाँदा यो दृश्य एउटा जीवन्त नेपाली धरातलमा परिणत हुन्छ। कालो बादलले छोपेको शिवपुरीको फेदी, जहाँ सुसाउँदै बग्ने रुद्रमती नदीको किनारमा एउटा पुरानो ढुङ्गे घर थियो। यहाँ मननको चेतना विवेक नामको युवकमा परिणत भयो।

स्मृतिको अर्को कडा भण्डारण खोल्दा करुणाको आँसु तप्किन्छ। विवेक सम्झिन्छ आफ्ना सीधा र मेहनती बुवा कोइरालाबाजेलाई, जो दिनभरि खेतमा पसिना बगाउँथे, र उसकी आमालाई, जो मेसिनहरूको कोलाहलका बीच पनि साँझमा उनलाई माया र ममताका प्राचीन कथाहरू सुनाउँथिन।

उनी भन्छिन, “बाबु, संसारमा जतिसुकै यन्त्र आए पनि, हृदयको करुणा कहिल्यै मर्न दिनु हुँदैन।” तर, यो कपटी समाजका नेता र टाठाबाठाहरूले बुवाको श्रमको शोषण गरे, कानुन त केवल शक्तिशालीहरूको सुरक्षा कवच बन्यो।

अझ पीडादायी कुरा, जब विवेकले यो अन्यायविरुद्ध आवाज उठायो, उनकै आफन्तहरूले उसलाई पागल घोषित गरे। “यसको संघर्षले घरको शान्ति बिगार्छ” भन्दै आफ्नै मान्छेहरूले उसलाई अपहेलना र घृणाको खाडलमा धकेलिदिए।

यहाँ विवेकले जीवनको सबैभन्दा कडा सत्यको सामना गर्‍यो, के आमाबुबाले सन्तानलाई गर्ने प्रेम सधैँ निःस्वार्थ हुन्छ? आमाबुबाले हुर्काउँदा गरेको संघर्ष आदरणीय छ, तर धेरैजसो अवस्थामा त्यहाँ शर्त र स्वामित्व जोडिएको हुन्छ।

उनीहरू आफ्नो संघर्षलाई हतियार बनाएर सन्तानलाई जीवनपर्यन्त आफ्नो मानसिक र व्यावहारिक दास बनाउन चाहन्छन। “हामीले तिम्रा लागि यति दुःख गर्‍यौँ, त्यसैले तिमीले हाम्रो इसारामा चल्नुपर्छ” भन्नु प्रेम होइन, यो भावनात्मक धम्की हो। यही बन्धनबाट उम्किनका लागि नै मानिसले आफ्नो स्वतन्त्रता खोज्छ।

यो समाजको चरित्र पनि कम हँसाउने खालको थिएन! विवेक ओठमा एउटा तीतो मुस्कान ल्याउँछ। यो परिवेश एउटा जीवित प्रहसन र पाखण्डको उत्कृष्ट नमुना बनिसकेको थियो।

भर्खरै जन्मिँदै गरेको जैविक बच्चा आमाको काखमा होइन, सिधै हातमा गुड्ने दूरसञ्चारको पर्दामा हराएको छ। आमा आधुनिक भएको बहानामा चुपचाप मेकानिकल आँखाले हेरिरहेकी छिन।

मानिसहरू व्यापार, राजनीति र पदमा ‘म जितिरहेको छु’ भन्दै यन्त्रको अहंकारको बाँसुरी बजाइरहेका छन, तर भित्रभित्रै नैतिकता, परिवार र प्रेममा लज्जास्पद रूपमा हारिरहेका छन। बाहिर मिल्ने र आदर्श बन्ने नाटक गर्छन, तर भित्रभित्रै टुक्रिँदै गएका छन। यो भन्दा ठूलो सामाजिक ठट्टा र पाखण्ड अर्को के हुन सक्छ?

जब विवेकले यो राजनीतिक र सामाजिक प्रणालीलाई हेर्छ, उसभित्र रौद्र रूप जाग्छ। यहाँ राजनीति कुनै विचारको प्रतिस्पर्धा थिएन, यो त केवल नग्न प्रतिशोध र शक्तिको प्रदर्शन थियो। व्यापार सेवा होइन, सोझो शोषणको अखडा बनेको थियो।

प्राचीन ग्रन्थको त्यो वाक्य विवेकको मस्तिष्कमा गर्जिन्छ, “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।” जहाँ धर्म, अर्थात् नैतिकता, सत्य र प्रेम हराउँछ, त्यहाँ अधर्म, अर्थात् लोभ, घमण्ड र विभाजन पलाउँछ।

प्रश्न गर्दा यहाँ राजनीतिमा शत्रु ठहरिने, समाजमा संस्कारविहीन कहलिने र परिवारमा अवज्ञाको आरोप लाग्ने डरलाग्दो वातावरण थियो। यो देख्दा उसको रगत उम्लिएर आउँथ्यो।

चेतनाको यो महायात्रा अब हिमालका अभेद्य टाकुराहरूले घेरिएको एउटा गुप्त र पराभौतिक उपत्यकामा पुग्छ, जसलाई निसर्ग लोक भनिन्छ। यहाँ विवेकको रूपान्तरण सिद्धार्थ मा हुन्छ, जसले मानव मस्तिष्कको सबैभन्दा गहिरो रोगलाई नियाल्छ।

अन्धाधुन्ध प्रविधिको दौडमा कुदिरहेको यो संसारमा कहिलेकाहीँ रातको अन्धकारमा सिद्धार्थलाई एउटा भयानक डरले घेर्थ्यो। मानव मन वर्षायामको खहरे खोलाको भेलजस्तै हो, जसमा अनेकौँ शङ्काका कालो बादल मडारिन्छन।

उसलाई डर लाग्छ, के यो कुरुप समाजसँग लड्दा लड्दै म आफैँ पनि कुनै आत्ममुग्ध वा समाजलाई नै ध्वस्त पार्ने खतरनाक खलनायक त बन्ने होइन? यहीँ उसले आधुनिक मानवको सबैभन्दा ठूलो छटपटी देख्छ, जसलाई छुट्ने डर वा पछि परिने त्रास भनिन्छ।

सामाजिक सञ्जालका पर्दाहरूमा अरूको नक्कली खुसी, धन र पद देख्दा मानिसलाई लाग्छ, “म मात्र पछि परेँ कि क्या हो? मैले मात्र जीवन साट्न सकेको छैन कि?” यही त्रासले गर्दा मानिस आफ्नो अमूल्य जीवन अरूसँग तुलना गरेर बर्बाद गरिरहेको छ र आफ्नो प्रतिक्रियावादी सोचलाई नयाँ उपभोक्तावादी उपनिवेशमा साटिरहेको छ।

सहरको सबैभन्दा बीभत्स र घिनलाग्दो पाटो त तब देखिन्थ्यो, जब मानिसहरू मानिस हुनुको पहिचान बिर्सेर जातपात, वर्ग, लैङ्गिक भिन्नता र शक्तिको घमण्डमा डुब्थे। सबै बच्चाहरू जन्मिँदा शुद्ध र समान जन्मिन्छन्। कोही हिन्दु, बौद्ध, मुस्लिम वा क्रिश्चियन भएर जन्मिँदैनन्। तर यो विकृत समाजले उनीहरूलाई विभेदको हिलो छ्यापेर कुरुप बनाइदिन्छ।

यहाँ सिद्धार्थले आफ्नो उच्च शिक्षाको अतीतलाई सम्झिन्छ। के उच्च शिक्षा हासिल गर्नु भनेको सबैथोक पाउनु हो? बिल्कुलै होइन। हाम्रा विश्वविद्यालयहरूबाट निस्किएका उत्पादनहरू केवल पद र पैसाको लागि गिद्धझैँ लुछाचुँडी गरिरहेका छन, जो समाजका लागि भार प्रमाणित भइसकेका छन।

शिक्षाले मस्तिष्कलाई तिखार्‍यो, तर हृदयलाई प्रबोधित गरेन। यदि शिक्षाले तपाईंलाई आफैँलाई बुझ्ने र सम्बन्धहरू जोगाउने विवेक दिँदैन भने, तपाईंले आफ्नो अमूल्य जीवन केवल कागजका निर्जीव ठेलीसँग साट्नुभएको छ।

यही विन्दुमा सिद्धार्थले मानव मनको अर्को एउटा कडा र गुप्त पाटोसँग साक्षात्कार गर्छ, धेरै स्त्री वा पुरुषसँग सम्बन्ध राख्नुको वास्तविक अर्थ के हो? समाजले यसलाई चरित्रहीनता वा धोका भन्छ, तर दार्शनिक र मनोवैज्ञानिक धरातलमा यो वास्तवमा आफैँभित्रको चरम रित्तोपनलाई बाहिरबाट भर्ने एउटा कुरुप र असफल प्रयास मात्र हो।

जब मानिस आफैँसँग बस्न डराउँछ, जब उसलाई भित्रैदेखि आफ्नो अस्तित्व निरर्थक लाग्छ, तब ऊ नयाँ नयाँ अनुहार, नयाँ नयाँ शरीर र सम्बन्धहरूमा आफ्नो अस्तित्वको सन्तुष्टि खोज्न भौँतारिन्छ।

तर बाहिर जतिसुकै सम्बन्ध फेरे पनि भित्री आत्माको तिर्खा मेटिँदैन। साँचो स्थिरता धेरै सम्बन्धहरूको सङ्ख्यामा होइन, बरु एकको गहिराइमा पुगेर आफैँलाई भेट्टाउनुमा छ।

तर यही अँध्यारो घडीबाट एउटा अद्भुत चमत्कारको जन्म हुन्छ। सिद्धार्थले महसुस गर्छ, “जब जब अस्तित्वमा खडेरी पर्छ, त्यही अँध्यारो घडीबाट नयाँ सिद्धान्तको बीज उम्रन्छ। पीडा नै विचारको गर्भ हो।”

डर र अभावका तीव्र झट्काहरूले जब कामनाका जन्जिरहरू बारम्बार बज्रिएर टुक्रिन्छन, तब मानिस विवेकको उज्यालो खालीपनमा पुग्छ।

त्यो चरालाई हेर्नुस, कति स्वतन्त्र छ! मानिसले चरालाई हेरेर आकाशमा उड्न सिक्यो, माछालाई हेरेर समुद्रमा पौडिन सिक्यो। आज मानवीय भावना र कृत्रिम बौद्धिकता जस्ता नवीन प्रविधिको सङ्गमले सोचका दायरालाई फराकिलो बनाएको छ।

जो अभावले खोस्यो, त्यही अभावले मुक्ति दिने यो चक्र कति अद्भुत छ! लाखौँले असत्यलाई आत्मसात गरे पनि अन्ततः सत्य सत्य नै हुन्छ र असत्य असत्य नै रहन्छ।

यी सबै रसहरूको आँधीहुरी, अर्थशास्त्रको गणित र सम्बन्धहरूको भुलभुलैया पार गरिसकेपछि, चेतना आफ्नो अन्तिम गन्तव्यमा पुग्छ, जसलाई मण्डल ३ भनिन्छ।

मध्यरातको ठीक दोस्रो प्रहरमा, द्वन्द्वमती नदीको सुसाहट एकाएक बन्द भयो। सहरका कृत्रिम बत्तीहरू मधुरो भए। सिद्धार्थले आफ्नो डिजिटल यन्त्र बन्द गरेर टाढा फालिदियो र आँखा चिम्लियो।

उसले आफ्नो भित्री चेतनामा एउटा अन्तिम महाप्रश्न गर्‍यो, के यो समाजबाट मानव कहिल्यै एक्लो हुन सक्छ? जवाफ आयो: भौतिक रूपमा शरीर त समाजकै अन्नपानी र श्रममा बाँचेको छ, त्यसैले भौतिक पलायन सम्भव छैन।

तर आत्मिक र मानसिक रूपमा? हो, मानिस समाजबाट पूर्णतः एक्लो हुन सक्छ र हुनुपर्छ। जब मानिसले समाजको नक्कली प्रशंसा र कुरुप गालीको घेरालाई तोडिदिन्छ, जब ऊ अरूको विचार र सिद्धान्तको भारी बिसाएर आफ्नै शून्यतामा उभिन्छ, तब मात्र ऊ साँचो अर्थमा मुक्त हुन्छ।

भीडमा बसेर पनि आफ्नो मौलिकता जोगाउनु नै साँचो एक्लोपन हो। एउटा पिँजडाबाट निस्किएर अरूको विचारको अर्को पिँजडामा पस्नु स्वतन्त्रता होइन। साँचो स्वतन्त्रता त आफैँभित्रको विवेकलाई ब्युँझाउनु हो।

उसको कोठामा फेरि एउटा गहिरो र अलौकिक मौनता छायो। उसले आफ्नो भित्री आत्माको सुषुप्त आवाज सुन्यो, त्यो आवाज, जो न भीडमा हराउँछ, न मौनमा बिसाउँछ।

प्राचीन उपनिषद्को वाक्य उसको मनमा चम्कियो: “सत्यं वद, धर्मं चर, स्वाध्यायान्मा प्रमदः” धर्म केवल कुनै मन्दिर वा केन्द्रको अनुष्ठान होइन।

धर्म भनेको आफ्ना प्रियजनलाई समय दिनु हो, आमाको थकान बुझ्नु हो, बुबाको जिम्मेवारीमा काँध थाप्नु हो, र समाजलाई नेतृत्व दिनुअघि आफ्नै घरमा न्याय दिनु हो। आफ्नो घरमा न्याय दिनु अघि आफूले आफैँलाई बुझ्नु हो।

बुद्धको मार्ग आज उसका लागि कुनै देवत्व थिएन, बरु आफ्ना यी तमाम डर, पछि परिने त्रास, सम्बन्धका भ्रम र छटपटीको सामना गर्ने एक साहसी अभ्यास थियो। बुद्धको त्यो शाश्वत सन्देश उसको मनमा शान्त भएर बस्यो: “छोड्न सकियो भने, पाइन्छ। र बुझ्न सकियो भने, बाँचिन्छ।”

बस्तीमा बिस्तारै नयाँ बिहानीको झुल्के घाम पर्‍यो। सिद्धार्थ ओछ्यानबाट उठ्यो। आज उसको अनुहारमा कुनै छटपटी थिएन, न त कुनै पछि परेको त्रास थियो।

उसलाई अब स्पष्ट भयो, हामी बाहिर ठूला नेता, क्रान्तिकारी वा आदर्श बन्नुअघि आफ्नो घर, आफ्नो परिवार र आफूभित्र नैतिकता जगाउने नेता बन्नुपर्छ।

यदि हामी परिवार र आत्मबोधलाई बिर्सेर समाज बनाउन हिँड्छौँ भने त्यो समाज केवल पाखण्डको जगमा उभिएको तासको महल मात्र हुनेछ। साँचो विजय धन, पद, बदला वा यन्त्रहरूको नियन्त्रणमा छैन, साँचो विजय त प्रेम, सत्य र नैतिकतामा विजयी हुनु हो।

यो लामो वैचारिक यात्राको अन्तिम डिलमा उभिएर पाठकहरूलाई नै सोध्न चाहन्छु ।

के यो कथा पढिसकेपछि तपाईंलाई आफैँभित्र एउटा नयाँ सामीप्यता महसुस भयो, कि तपाईंका पुराना धारणाहरू भत्किए?

यहाँ कोरिएका तीता यथार्थहरूले कसैको पवित्र सामाजिक आवरणमाथि प्रश्न उठाएको देख्नुभयो कि मानव जातिको नक्कली आचरणको अनुहार?

के तपाईंलाई लाग्छ यो कथाले आधुनिक समाजलाई अन्यायवश केवल एउटा यान्त्रिक पिँजडा मात्र भन्यो, कि कतै हामी आफैँ नै यो यन्त्र र तथ्याङ्कको जालमा स्वेच्छाले बाँधिएका छौँ?

के यहाँ साँचो भावनासँग चिसो र निर्दयी तर्कको सौदाबाजी गरिएको हो, कि भावनाकै आवरणभित्र लुकेको स्वार्थको चिरफार गरिएको हो?

धेरै स्त्री वा पुरुषसँगको सम्बन्धलाई नैतिकताको तराजुमा मा मात्र जोख्नु ठीक होला, कि त्यसलाई मनभित्रको विशाल रित्तोपन र एक्लोपनको ऐना मान्नु उपयुक्त होला?

के केवल कोठामा बसेर आदर्शका गफ हाँक्नु मात्रै जीवन हो, कि धर्तीको कठोर यथार्थ र सम्झौतासँग जुध्नु साँचो अस्तित्व हो?

पैसा, शक्ति र सम्भ्रान्त हुनुलाई जीवनको अन्तिम सन्तुलन मान्न सकिएला, कि ती केवल साधन मात्र हुन्?

अनि विश्वविद्यालयका ती ठूला प्रमाणपत्र र उच्च शिक्षा हासिल गर्नु नै सबैथोक पाउनु हो त, यदि त्यसले हृदयलाई करुणा र मस्तिष्कलाई आत्मबोध दिन सक्दैन भने? तपाईं यो चेतनाको कुन किनारमा उभिनुहुन्छ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top