गम्भीर ध्यानाकर्षण तथा खबरदारी: प्राज्ञिक अस्तित्व र विद्यार्थीको भविष्यमाथिको खेलवाड अस्वीकार्य छ!
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (NMA) र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) बीचको तथाकथित मर्जर प्रक्रिया तथ्य, आवश्यकता र प्राज्ञिक औचित्यका आधारमा नभई, केही सीमित कर्मचारी र केहि महिने तदर्थ नेतृत्वको निहित स्वार्थबाट अभिप्रेरित छ। “सरकारको निर्णय” को लेप लगाएर भइरहेको यो नीतिगत अपारदर्शिता कानुन र संस्थागत सुशासनको ठाडो उल्लंघन हो।
कुनै पनि प्राज्ञिक संस्थाको मर्जर त्यसको दूरगामी प्रभाव, पाठ्यक्रमको प्रकृति र विद्यार्थीको भविष्यको सुनिश्चितताको विस्तृत अध्ययन (Feasibility Study) पछि मात्र हुनुपर्ने कानुनी र नीतिगत मान्यता हो। तर, आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न हचुवाको भरमा चालिएको यो कदमले आज हिमाल र पर्यटन विज्ञानका विद्यार्थीहरूलाई ‘घर न घाट’ को अवस्थामा पुर्याएको छ।
अहिले विद्यार्थीहरूले उठाएका जायज र तथ्यपूर्ण प्रश्नहरूको संस्थागत जवाफ दिनुको सट्टा, उनीहरूलाई विभिन्न प्रलोभन (ललिपप) र म्यानिपुलेसनमार्फत दबाउन खोजिनु निन्दनीय छ। विद्यार्थीको भर्ना शर्त र शैक्षिक अधिकारमाथि गरिएको यो प्रहार उपभोक्ता संरक्षण र शिक्षाको हक सम्बन्धी आधारभूत मान्यताकै विरुद्धमा छ।
भोलि समाजको ऐना बनेर अरुको आवाज उठाउनुपर्ने हामी विद्यार्थी, आज आफ्नै प्राज्ञिक थलोमा भएको यो चरम बेथिति र अन्याय सहेर बस्न सक्दैनौं। कानुनी र नैतिक दुवै रूपमा अन्याय गर्नु जति अपराध हो, अन्याय भएको देख्दादेख्दै चुपचाप सहेर बस्नु त्यो भन्दा ठूलो अपराध हो।
तसर्थ, हाम्रो स्पष्ट खबरदारी छ:
१. केही व्यक्तिको व्यक्तिगत र प्रशासनिक स्वार्थपूर्तिका लागि संस्था र विद्यार्थीको भविष्य दाउमा लगाउने काम तुरुन्त बन्द गरियोस।
२. मर्जरको नाममा भइरहेको अपारदर्शी निर्णय प्रक्रिया र विद्यार्थीमाथिको म्यानिपुलेसन तत्काल रोकी, संस्थागत जवाफदेहिता प्रस्तुत गरियोस।
यो केवल हामी विद्यार्थीको मात्र नभई समग्र नेपालको पर्वतीय प्राज्ञिक भविष्यको सवाल हो। यसर्थ, सम्बन्धित मन्त्रालय, सरोकार राख्ने सम्पूर्ण पूर्व विद्यार्थी, विज्ञ, र शुभचिन्तकहरूलाई यस बेथितिविरुद्ध एकजुट भई बोल्न आह्वान गर्दछौं।
#NepalMountainAcademy #StudentRights #AcademicIntegrity #Accountability #SayNoToManipulation #JusticeForStudents