देशमा भर्खरै बनेको नयाँ सरकारप्रति नागरिक र समग्र पर्यटन क्षेत्रको ठूलो आशा छ।

देशमा भर्खरै बनेको नयाँ सरकारप्रति नागरिक र समग्र पर्यटन क्षेत्रको ठूलो आशा छ। यो सरकारमा पढेलेखेका युवा, इन्जिनियरिङ बुझेका प्राविधिक र पर्यटनको मर्म जानेका विज्ञहरूको बलियो उपस्थिति छ। विगतका सरकारहरूले कामै नगरेका वा नीति नै नबनाएका पक्कै होइनन; हाम्रा नीति, नियम र गुरुयोजनाहरू कागजमा हेर्दा अत्यन्तै उत्कृष्ट र लोभलाग्दा छन। समस्या त केवल कार्यान्वयन (Execution) को थियो। यदि अहिलेको नेतृत्व साँच्चै नै “हामी विगतभन्दा फरक छौं” र “नयाँ मापदण्डसहित देश रूपान्तरण गर्दैछौं” भनी दाबी गर्छ भने, त्यसको पहिलो र स्पष्ट प्रतिविम्ब अब आउने जेठ १५ को बजेट र त्यसपछिका विकासका मोडलमा देखिनुपर्छ।

अब केही समय पश्चात् मनसुनको पूर्वसंकेतसँगै गाउँगाउँमा अर्को एउटा आवाज गुन्जिन थाल्छ त्यो हो डोजरको गर्जन। विगतमा ‘असारे विकास’ को नाममा डाँडाकाँडा चिरेर रातारात ठड्याइएका कंक्रिटका भ्यू-टावर र मापदण्डविपरीतका संरचनाले हाम्रो मौलिकता र प्रकृतिको मुहारलाई कुरुप बनाएका छन। पढेलेखेका र विज्ञहरू सम्मिलित यो नयाँ सरकारले अब यस्ता बजेट सक्ने मेलोलाई रोकेर विकासको भाष्यलाई नै बदल्न सक्नुपर्छ। पर्यटन केवल डाँडामा कंक्रिट खन्याउनु वा स्वागतद्वार बनाउनु मात्र होइन; यो त भूगोल, अर्थतन्त्र र मानवीय संवेदनाको गहिरो मिलन बिन्दु हो भन्ने यथार्थलाई अब राज्य संयन्त्रले गम्भीरतापूर्वक महसुस गर्नुपर्छ।

पर्यटन विकासलाई कुनै एउटा सीमित गाउँ, वडा वा प्रदेशको साँघुरो सिमानामा मात्रै बाँधेर हेर्नु सबैभन्दा ठूलो भुल हो। प्राकृतिक सम्पदा, जैविक विविधता र हिमालका शृङ्खलाहरूलाई प्रशासनिक सिमानाले छेक्दैन। त्यसैले, अबको पर्यटन विकास अनिवार्य रूपमा ‘एकीकृत’ र ‘सर्किट-वाइज’ (Circuit-wise) हुनुपर्छ। एउटा प्रदेशको पारिस्थितिक प्रणाली (Ecology) र अर्को प्रदेशको सांस्कृतिक पक्षलाई जोड्ने गरी ‘ग्रेटर टुरिजम सर्किट’ नबनाएसम्म न त पर्यटनले गति लिन्छ, न त संवेदनशील भौगर्भिक क्षेत्रको संरक्षण नै हुन्छ। राज्यले पूर्वाधारको जग खन्नुअघि हाम्रा पर्यटक को हुन्, उनीहरू कुन मनोवैज्ञानिक वा सामाजिक कारण (पुस फ्याक्टर) ले आफ्नो देशबाट निस्किए र हाम्रो कुन मौलिकता (पुल फ्याक्टर) ले यहाँ तानिए भन्ने बुझ्न नितान्त जरुरी छ। अध्यागमनको तथ्याङ्कले देखाउने पर्यटकको चाहना र हाम्रो गन्तव्यको जीवनचक्र (Destination Life Cycle) बीच वैज्ञानिक तालमेल हुनैपर्छ। कुनै गाउँ भर्खरै पर्यटनको सुरुवाती चरणमा छ भने त्यहाँ सहरिया ‘सुपरस्ट्रक्चर’ होइन, मौलिकता, सरसफाइ र सुरक्षाको खाँचो हुन्छ।

नेपाल जस्तो संवेदनशील भौगोलिक बनावट भएको देशमा इन्जिनियरिङको अर्थ प्रकृतिमाथि विजय प्राप्त गर्नु वा डोजर चलाउनु होइन, बरु प्रकृतिसँगै बग्ने दिगो संरचना तयार गर्नु हो। वातावरणीय र भौगर्भिक अध्ययन (Geological test) बिना भिर काटेर बनाइएका सडक र संरचनाले पहिरो र विपद् निम्त्याएर अर्थतन्त्रलाई मात्र धरासायी बनाएका छैनन, पर्यटकको सुरक्षा र बजारको ‘डिमान्ड-सप्लाई’ चक्रलाई समेत पूर्ण रूपमा ध्वस्त पारेका छन। यो प्राविधिक पक्षलाई नयाँ सरकारका विज्ञ इन्जिनियरहरूले बुझेर नीतिगत सुधार गर्नेछन् भन्ने अपेक्षा छ।

विकासको यो समग्र इकोसिस्टममा हामीले आयोजक समुदाय (Host Community) र पर्यटन उद्योगलाई काँधमा बोक्ने जनशक्तिलाई बिर्सन मिल्दैन। पर्यटनले स्थानीयको आर्थिक, सांस्कृतिक र सामाजिक जीवनस्तर उकास्नुपर्छ। हिमाल र पहाडका गोरेटोहरूमा भारी बोक्ने पोर्टरदेखि पर्यटकको ज्यानको सुरक्षा गर्ने गाइडसम्मको श्रमको सम्मान, सुरक्षा र उचित पारिश्रमिक बिना पर्यटनको दिगो आपूर्ति सम्भव नै छैन। यी सबै आर्थिक, सामाजिक र वातावरणीय तत्त्वहरूको गहिरो अध्ययन र बजार विश्लेषणपछि मात्र वास्तविक ‘टुरिजम प्लानिङ’ को जन्म हुन्छ र योजनापछि मात्र भौतिक विकासको पालो आउँछ। तसर्थ, कागजमा सीमित योजनाहरूलाई अब व्यवहारमा उतार्दै; सुरक्षित गन्तव्य, अनुसन्धानमा आधारित पूर्वाधार, पर्यटन श्रमिकको हित र एकीकृत ‘सर्किट’ विकासलाई नयाँ सरकारले आफ्नो मार्गचित्र बनाउनुपर्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top